हेमराज स्मृति पुरस्कार अली मियाँलाई प्रदान

– पुरस्कार राशि १ लाख रुपैयाँ र ताम्रपत्र

हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा शनिबार मियाँलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।

हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा शनिबार मियाँलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।

वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारीले लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र एवं लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँलाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी १ लाख रुपैयाँको साथमा ताम्रपत्र छ ।

मियाँलाई प्रदान गरिएको पुरस्कार चौथो हो । प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद र धरानको विमल गुरुङ स्मृति पुस्तकालयलाई प्रदान गरिएको थियो । 
साहित्यकार अनिल पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अली मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

कार्यक्रममा प्रज्ञासभा सदस्य कोइरालाले प्रगतिशील विचारधाराका माध्यमबाट देशलाई चिनाउन सफल व्यक्तित्व हेमराज पहारीलाई भएको दावी गरिन् । हेमराज हामीमाँझ नभए पनि उहाँका व्यक्तित्व र कृतित्वले चीर अमर बनाइराख्ने उनले स्पष्ट पारिन् । कोइरालाले शिक्षासेवी, समाजसेवी, साहित्यकारका साथै राष्ट्रका धरोहर हेमराजलाई पोखरेलीले बिर्सन नहुने भन्दै उनले हेमराजलाई अल्पायूमै गुमाउनु पर्दा आफूलाई निकै पीडा भएको बताइन् ।

साहित्यकार एवं प्रतिभा छनोट समिति संयोजक अनिल पौडेलले लोककवि अली मियाँको योगदानको कदर गर्न पुरस्कार प्रदान गरिएको बताए । उनले व्यक्तित्व र कृतित्वका कारण हेमराज र अली मियाँ दुवै अझै जीवित रहेको भन्दै उनले उनीहरू दुवैको योगदानलाई थप उजागर गर्नुपर्नेमा जोड दिए ।
साहित्यकार लक्ष्मी निरौलाले हेमराज र अली मियाँमा तुलना गर्दा पेशागत बाहेक अन्य केही फरक नभएको बताए ।

हेमराज पहारीका सहपाठी मदनराज थापाले हेमराज र आफू अन्तरङ्ग मित्र भएको बताए । 
लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँले पोखरा तथा साहित्य जगतले हेमराज र अली मियाँको जति गुनगान गाए पनि कमि हुने बताए । उनले अली मियाँलाई पुरस्कार प्रदान गरेर हेमराज पहारी स्मृति प्रतिष्ठानले आफूलाई चीर ऋणि बनाएको बताए । 

संस्थाको परिचाय गराउँदै प्रतिष्ठानका सदस्य फणीन्द्र अकिञ्चनले हेमराज जत्तिको व्यक्तित्वलाई गुमाउन पर्दा पोखरेलीर्ला नमीठो पीडा भएको बताए । उनले हेमराजको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्न संस्था अघि बढिहेको बताए ।

उक्त अवसरमा हेमराजद्वारा रचित ‘हेमराज पहारीका गीतहरू’ नामक कृति लोकार्पण र कृतिमा रहेका गीतहरू प्रस्तुत गरिएको थियो । पहारीका यसअघि देशको अभिभारा कविता सञ्चयन र उत्तरी गोलाद्र्धको एक फन्को नियात्रा प्रकाशित छन् । कृतिको समीक्षा गर्दै साहित्यकार असफल गौतमले हेमराजलाई राष्ट्रवादी चिन्तक, विद्रोही चेतका स्रष्टा, श्रद्धाका पूजारी, प्र्रेम चिन्तक, दूरदृष्टि स्रष्टाको रुपमा चित्रण गरे । 
गौतमले हेमराजको कृतिमा आधुनिक, लोकलय, गन्दर्भले गाउन मिल्ने गीतहरू समावेश भएको भन्दै पहारीका विचार, भाव र घटना आफ्नै घर आँगनको भएको बताए । हेमराजका कृतिहरूलाई जीवन्त राख्न कन्जुस्याइँ गर्न नहुने उनले स्पष्ट पारे ।

पहारीका गीतमा साहित्यकार एवं गायिका अम्विका भण्डारी, कमला श्रेष्ठ, किशोर सुवेदी, रुपेश भण्डारीले स्वर दिएका थिए भने सुमन श्रापित र विवि अनुरागीले संगीत भरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्दराज पहारी र सञ्चालन सञ्चारकर्मी कविता श्रेष्ठले गरेकी थिइन् ।