अलि मियाँ

अली मियाँलाई भेटेपिच्छे राजा वीरेन्द्रले सोध्ने गर्थे, “फेरि बिहे गर्नुभयो कि !” अनि त्यसै बेला रानी ऐर्श्वर्य बोल्थिन्, “बच्चाबच्ची हुर्किसके होलान् नि !” अली मियाँका जेठा छोरा हनिफ मियाँका अनुसार अली मियाँले औपचारिक रुपमा पाँच जनासँग मात्र बिहे गरे अनि ५ छोरा र ९ छोरी गरी चौध जना सन्तान पाए । तर उनको जीवनको उत्तरार्ध पाँच जोईको पोइ कुना पसी रोई भयो । अनि बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथिको चरितार्थमा उनले आफ्नो जीवनयात्रा समाप्त पारे । मियाका कुनै पत्नीको निधन भयो, कुनै पत्नी अर्कैतिर हिँडे र अन्ततः उनी पच्चीस वर्षम्म पत्नीविहीन भएर नै बाँचे ।
मियाँलाई उनका सन्तानले सुक्ख दिन चाहन्थे । उनकी पत्नी चाहे परपुरुषसँग लागेका बेला होस् अनि चाहे दिवङ्गत भएका बखतमा होस् छोराछोरीले “बुबा फेरी अर्को बिहे गर्नुहोस्” भन्थे ।
मियाले गायिका मैमुन बेगमलाई चार वर्षी छोरी सहित बागलुङबाट जुहारी गीत गाउँदा जितेर ल्याएका थिए । तिनै उनकी कान्छी पत्नी केही वर्षमात्रै मियाँसँग बसेर मियाको सिरीखुरी बोकेर हिंडिन् । अनि त्यसपछि मियालाई प्यारालाइसीस भयो । त्यसैले उनी क्रमशः ओछ्यानमा नै थन्किरहे ।
मियाको जन्म १९७५ साल फागुन १५ गते पोखरामा भएको थियो । उनी दिनमोहम्मद मियाँ र जहुरनका तेह्रौँ सन्तान अथवा कान्छो छोरा थिए । उनी जन्मेको डेड वर्षमाआमा र तीन वर्षमा बुबाले धर्ति छाडेका थिए ।
मियाँ आफ्ना दाजुभाउजूको संरक्षणमा हुर्के । त्यसैले उनको बाल्यकाल विपतैविपतमा बित्यो । त्यस बेला उनले खुट्टा टेक्नु भनेको अर्को आर्श्चर्य मानिन्थ्यो । तर पनि उनी कठ्याङ्ग्रिएर नै बामे र्सर्दै हिंडे ।
मियाँ बाल्यकालदेखि नै परिश्रम गर्थे । बिहान घाँस काट्नेदेखि दिउँसो गाइबाख्रा हेर्नेसम्म उनको दिनचर्या मानिन्थ्यो । उनी प्रायः दाउरा बोक्न वनजङ्गल जान्थे र बिहानबेलुका घरधन्दामा पनि सरिक हुन्थे ।
१९९० सालको महाभूकम्पपछि पोखरालाई पनि हैजाले रुवावासी बनायो । उनका तेह्र जना दिदीबहिनी र दाजुभाइमध्ये एघार जनालाई हैजाले टिप्यो । तर उनका दाजु मेहरमान र उनीमात्र बाँचे ।
मियाँले स्कुले शिक्षा लिन पाएनन् । त्यस समयको नेपाली समाजले एकातिर मुसलमानको पानी चलाउँदैन थियो भने अर्कातिर दलित र मुसलमानलाई स्कुल पढ्न निषेध थियो । त्यसैले उनले किशोरावस्थाको चुलीमा पुगेपछि मात्रै धुलेपाटीमा कखरा लेखे । अनि उनले २१ वर्षपुगेपछि आफ्नो नाउँ लेख्न जाने । त्यसपछि कनीकुथी गरेर उनले चिठीपत्र र गीतहरू लेख्न थाले ।
मियाँ बाल्यकालदेखि नै गीत गाउँथे । उनको स्वर सुनेर मान्छेहरू मोहित हुन्थे । तर कसैले उनको दुक्ख देख्तैनथ्यो । साथै उनको स्वरको वर्णन नगर्ने पनि कोही हुँदैनथ्यो । तर पनि त्यसबेला उनको शिक्षाका लागि कोही बोल्दैन थिए ।
राम्रो खान र मीठो लाउने हेतु मियाँ १९९९ सालमा लाहुर गए । त्यस बेला उनले वृटिश गोर्खा सेनामा भर्ना भएर देहरादूनमा तालीम लिए । अनि तालीम लगत्तै उनी दोस्रो विश्वयुद्धमा बर्मा पठाइए । त्यस बेलाको सङ्घर्षमा उनका धेरै दौँतरीलाई बारुदले सक्यो तर उनी लगायत केही बाँचे । अनि सग्लो शरीर लिएर उनी २००२ सालमा घर आए । त्यस बेलासम्म उनकी मायालुले डाँडो काटी सकेकी रहेछिन् । आफ्नी श्रीमती अर्कैसँग लागेको बेहोराले त्यति खेर उनी धुरुधुरु रोए । लाहुर नजाने र्सतमा उनले अर्कीसँग फेरी आफ्नो जोडा मिलाए ।
मियाको सृजनात्मक प्रतिभा बाल्यकालमा नै पलाएको थियो । घटराज भट्टराईका अनुसार उनले झन्नै एक दर्जन कृति लेखे । स्कुलै नपढी यति धेरै किताब लेख्ने उनी प्रथम नेपाली मुसलमान थिए ।
मियाँले लेखेरै देशदेशान्तरमा नाउँ चलाए र गीत गाएरै विश्वभरीका नेपाली माझ ख्याति कमाए । उनी मौलिकताले सुसज्जित र्सजक थिए । उनी आँसुकवि थिए । उनले गीत गाएपछि मान्छेहरू उनीसँग लट्ठ पर्थे । पहिलो पटक भेट्ता होस् या पुरानो परिचित होस् उनी गीत सुनाएरै कुराको आरम्भ र विर्सजन गर्थे । उनको त्यो विंडो जेठा छोरा हनिफ मियाँले पनि धानीरहे ।
राष्ट्रमा सग्लो योगदान दिएर मियाले कविशिरोमणि पुरस्कार, नारायणगोपाल पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, कुमुदिनी पुरस्कार पाए । साथै उनले प्रबल गोरखादक्षिण बाहुदेखि अनेक अलङ्कार र थुप्रै सम्मान, अभिनन्दन र कदरपत्रहरू पाइरहे । पोख्रेलीले त उनलाई रथारोहण नै गराए । साथै त्रिभुवन विश्वविद्यालयको एम्एको शोध समेत जोडेर भन्नु पर्दा उनका नाउँमा झन्नै आधा दर्जन कृति लेखिए ।
मियाँ रसिला थिए । गीत गाएर नै उनी केटी फकाउँथे । उनलाई सबैले झिल्के कान्छा भन्थे । साथै उनलाई बुद्धि कान्छा पनि भनिन्थ्यो । उनले जसरी रोमान्टिक गीत गाए त्यसरी नै बिरहले ढाकेको गीत पनि गाए । उनी जती गाउँथे आफ्नै रचना मात्रै गाउँथे र नेपाली गीत मात्र गाउँथे । उनी सकेसम्म राष्ट्रवादी धाराकै गीत गाएर हिंड्थे । उनी नेपालका सक्कली लोक कवि र गायक थिए ।
मियाँलाई माया गर्नेहरूमा राजा महेन्द्र नै प्रमुख मानिन्थे । मियाँलाई माया गर्ने अर्का व्यक्ति थिए प्रा.शङ्करराज पाठक । उनले आफू गण्डकी अञ्चलाधीश भएताका मियाँलाई खुबै काखी प्यापे । त्यसपछि उनलाई माया गर्ने व्यक्ति थिए भूतका भिनाजु अर्थात् वासुदेव लुइँटेल । लुइँटेलले नै उनको आत्मकथा छपाई दिए । एकपटक काठमाडौँ आएका बेला मियाँले लुइँटेललाई फोन गरेर भने, ‘हजुरलाई भेट्न म आउँदैछु, घरको टुङ्गो पाउँन !” मियाँको प्रश्नमा लुइँटेलले उत्तर दिए, “मियाँजी तपाईं प्रतापी पुरुष हुनुहुन्छ । तपाईंसँग मलाई भेट्न मन लागेन । किनभने भेट भएपछि हाम्रो माया रित्तिन्छ । त्यसैले हामी भेटघाट नगरौँ ।” लुइँटेलका कुरा सुनेर मियाले थुक निले ।
मियाँ आफ्नो धर्ममा अटल थिए । तर हिन्दू धर्मप्रति पनि उनको सकारात्मक सोच थियो । त्यसैले उनी प्रायः रामायण र महाभारतका भाकामा पनि गीत गाँउथे । वास्तवमा उनी मानवतावादी थिए र वसुधैव कुटुम्बकमका हिमायती थिए । त्योभन्दा ठूलो कुरा उनी स्रष्टा थिए । उनी आफ्नो सृजना र स्वर जसरी सबैको मन मस्तिष्कमा जोड्न चाहन्थे त्यसरी नै सबैको धर्ममा पनि मान्यता राख्ने गर्थे ।
मियाँको बूढेसकाल रोग, शोक र भोकमा नै बित्यो । जीवनको अन्त्यमा उनलाई प्यारालाइसीस लगायत दम र रक्तचापले सारै दुक्ख दियो ।
मियाँले पोखरामा चुरा र धागो बेचेर नै जीवनभरी गीत गाए । गीतै गाउँदागाउँदै उनी कहिल्यै नउठ्ने गरी सुते । भनौं २०६३ साल साउन १८ गते उनी दिवङ्गत भए ।