डा. एपिजे अब्दुल कलाम फाउन्डेसनका पदाधिकारी सम्मानित

नेपाली भाषाका लोककवि अली मियाँको स्मृतिमा गठन भएको अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको स्मृतिमा गठन भएको डा. एपिजे अब्दुल कलाम पाउन्डेसनका ३ पदाधिकारीलाई पोखरामा स्वागतसहित सम्मान गरेको हो ।

फाउन्डेसनका अध्यक्ष वद्रिविक्रम थापा, संस्थापक सचिव डा. अब्दुल खलिक र सांस्कृतिक सचिव दिलीप थापा कार्यक्रममा सम्मानीत भए । संस्थापक सचिव खलिकले सम्मानले यस्ता कार्यक्रमले सांस्कृतिक आदानप्रदान र २ देशको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने विचार राखे ।

प्राज्ञ हरिदेवी कोइरालाले स्रष्टालाई उत्साह थप्न यस प्रकारका कार्यक्रम गरिरहेको बताइन् । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले २ देशको सम्बन्ध र साहित्यको उत्थानका लागि यस्ता खालका कार्यक्रमलाई संस्थाले प्राथमिकता दिएको बताए ।

फाउन्डेसनका पदाधिकारी सोमबार कविशिरोमणि जन्मस्थल अर्घाैअर्चलेमा आयोजना गरिने वृक्षारोपणमा सहभागी हुनेछन् । सोही समारोहमा नेपाली लोक संस्कृतिको संरक्षणमा योगदान गरेकोमा हिमाली सांस्कृतिक परिवार, राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल कास्की र रामबजार पुन समाजलाई सम्मान गरियो । कार्यक्रममा अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका सचिव पद्यराज ढकाल, कोषाध्यक्ष तुलसी प्रवास र साहित्यकार ताराप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए ।

कार्यक्रममा डा. जगन्नाथ रेग्मी, केआर ढकाल, तर्कना शर्मा, किशोरदत्त बराल, शंकर ज्ञवाली, इन्द्र राना प्रतीक, गेहेन्द्रभूषण पोखरेली लगायतले कवितावाचन गरेका थिए । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारले कौरा र झ्याउरे नृत्य देखायो । रामबजार पुन समाजले पुख्र्यौली नाच र राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल कास्कीले भजनबाट दर्शकलाई मन्त्रमुग्ध बनाए ।