अन्तर्वार्ता : साहित्य दुःख, वेदना पोख्ने माध्यम हो

पोखराको सुन्दर प्राकृतिक नगरीका फुटपाथमा चुरा, पोते, सिन्दुरका पोकापन्तुरा बिच्छ्याएर काठको बाकसमा आफूलाई बिराजमान तुल्याएर चुरोटको धूँवासँग कल्पनामा अडेर गीत–कविता सोचिरहने लोककवि वा जनकविको नाम हो अली मियाँ । पोखरा नगरपालिकाको कुँडहर भन्ने ठाउँमा वि.सं. १९७० फागुन महिनामा जन्मनुभएका कवि अली मियाँका प्रकाशित कृतिहरुमा (१) विरक्त लहरी (२००६), (२) महेन्द्र लहरी (२००९), (३) पहाडको उद्गार (२०१३), (४) न्याउलीको पुकार (२०१०), (५) सेतीका सुस्केरा (२०२९), (६) निराश पोखरा (२०३७), (७) उज्यालो भइसक्यो (२०३९), (८) अलिमियाँ (२०३८) र (९) सम्झनाको दियो (कवितासङ्ग्रह–२०५१) प्रकाशित छन् ।

उर्दूका सायरीबाट प्रभावित भएर लोकगीतका खोजीमा र सिर्जनामा लागि परिरहेका अली मियाँले आफ्ना गीत र कविताहरुमा देशभक्तिका भावना सुसेलेका छन्, निर्माणका धूनहरु बजाएका छन्, शोषक–सामन्तका अत्याचारका विरुद्धमा आवाज घन्काएका छन् । निरीह गरिब निमुखाहरुको समर्थनमा ताली बजाएका छन् । इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कारद्वारा २०४७ सालमा सम्मानित हुनाका साथै पोखराबाट शिरोमणि पुरस्कार प्राप्त गर्नु भएका वृद्ध लोकवि तथा लोकगायक अली मियाँसँग २०५३ फागुन २६ गते पोखरामा नै रविलाल अधिकारीको सहयोगमा प्रधानसम्पादक मोहन दुवालले लिइएको अन्तर्वार्ताको सारसंक्षेप प्रस्तुत छ ः

 साहित्य सिर्जनामा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
सानैदेखि दुःख व्यहोरेर आजको परिवेशमा दुःखबाट छुटकारा पाउने वा दुःखको व्यथा गाउने क्रममा मेलापात जाँदा, घाँस दाउरा गर्दा गीत गाउने आदत बस्यो । आदत विकसित हुँदै जाँदा गीतकारका रुपमा परिचित हुन पुगेँ ।

तपाईंको परिभाषामा साहित्य के हो ? कस्तो हुनुपर्छ ?
साहित्य दुःख, वेदना पोख्ने एउटा माध्यम हो र यो राजनीतिक परिवेशमा देशको एउटा दाहिने आँखा हो । हाम्रा साहित्यकारहरुको दायित्व देशको विकासमा देखा पर्ने अभावलाई पूर्ति गर्ने र देशको सम्पन्नता, राष्ट्रियता, मानवता आदि तत्वहरुको विकास गर्ने हुनुपर्छ ।

बहुदलीय प्रजातान्त्रिक व्यवस्था पछिको साहित्यिक क्रियाकलाप सम्बन्धमा तपाईंको दृष्टिकोण के छ ?
म कसैको झण्डामुनि बसेर जिन्दावाद र मूर्दावाद भन्दिनँ । कसैले पनि राम्रो काम गर्छ भने म त्यस पार्टी र समूहलाई जाती मान्छु । प्रजातन्त्रको प्राप्तिपछि देशमा जुन किसिमको सुधार होला, जनजीवनले राहत पाउला भनी सोचेको थिएँ, त्यो पूरा हुन सकेन । साहित्यिक क्रियाकलापका सन्दर्भमा जनस्तरबाट केही भए पनि सरकारी तवरबाट केही काम हुन सकेको जस्तो लाग्दैन ।

छन्दोवद्ध कवितामा, गद्य कवितामा र गीत लेखनमा के–कस्तो फरक छ ?
आफ्नो वेदना जुनसुकै पनि शैलीमा पोख्न सकिन्छ, तर प्रविधिगत रुपमा छन्द परम्परागत रुपमा चलेको स्पष्ट धारा हो । यस्तै लोकगीत, लोक सङ्गीत र लोक नृत्य पनि हुन् । आधुनिक गीतमा मार्मिक रुपमा व्यथा व्यक्त हुन सक्तैन र गद्यमा कुराहरु मात्र हुन्छन्, लयात्मक आरोह–अवरोहको मिठास हुँदैन ।

साहित्यका विभिन्न वादबारे तपाईंको के विचार छ ?
साहित्यमा जुनसुकै स्थितिमा पनि गतिशीलता कायम रहेको हुन्छ र समाजसापेक्षवाद कायम रहेको हुन्छ । यसका आफ्ना सीमा हुन्छन्, हक र अधिकारको माग गर्ने कलम नै मेरो मान्यतामा उपयुक्त वाद ठहर्छ ।

नेपाली साहित्यकारमध्ये कसैसँग विशेष रुपमा प्रभावित हुनुहुन्छ कि ?
मलाई प्रभाव पार्ने साहित्यकारहरुमध्ये नेपालीमा देवकोटा, भानुभक्त, लेखनाथ, माधव घिमिरे आदि मलाई मन पर्दछ ।

 कुनै पनि लेख, रचना सिर्जना गर्दा के के कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ जस्तो लाग्छ ?
साहित्यमा लेख–रचना सिर्जना गर्दा मौसमी वातावरणलाई र बहार वसन्तलाई विशेष ध्यान दिइयो भने मार्मिकता आउन सक्छ भन्ने मलाई लाग्छ ।
गीत र कविताबाहेक अरु कुन कुन विधामा तपाईं कलम चलाउनुहुन्छ ?
मेरो प्रमुख पक्ष लोकगीत हो । प्राकृतिक परिवेशमा म गीतहरु गाउँछु । यदाकदा म मुक्तक र छन्दका कविता पनि लेख्छु । मेरा कवितामा प्रश्नहरु यिनै हुन् ।

गीतको पहिचान कसरी गर्ने ?
गाउनासाथ हृदयमा च्वास्स छुने क्षमता भएको गीत नै गीत हो । यसले कसैको पनि हृदयलाई छुन सक्ने हुनुपर्छ । स्पष्ट अर्थ खुलेको हुनुपर्छ । गीतमा राग हुन्छ, त्यो राग जगाउन सक्ने अभिव्यक्ति गीत हो । यो छन्दका कविता वा लोकछन्दको कविता जसरी पनि गीत हुन्छ ।

तपाईं काठमाडौबाहिर पोखरामा बस्नु भएको छ । मोफसलका साहित्यकारहरु उपेक्षित छन् भन्छन्, यसबारे तपाईंको दृष्टिकोण के छ ?
काठमाडौं उपत्यकाबाहिरका साहित्यकार गीतकारका साहित्यका गीतहरुको जानकारी पनि उपत्यकावासी साहित्यकारलाई छैन । अर्को कुरा जानकारी हुँदाहुँदै पनि मोफसलका साहित्यकार–गीतकारलाई बेवास्ता गरिन्छ, यसैको फलस्वरुप मोफसलका साहित्यकार ठगिएका छन् ।

साहित्यिक क्षेत्रमा तपाईंको उचित मूल्याङ्कन भएजस्तो लाग्छ कि लाग्दैन ?
मैले साहित्य क्षेत्रमा सेवा गरे अनुसार मेरो उचित मूल्याङ्कन गर्न खोजेको जस्तो लाग्दैन । चाकरी गर्न नजानेलाई सम्झना गरिंदैन, म आफू चाकडी गर्न जान्नँ, त्यसैको फल म ठगिनु स्वाभाविक हो ।

कवितात्मक भाषामा जीवनको परिभाषा दिनुहोस् ।
जीवन एउटा अमूल्य वस्तु हो । जसले केही गरेर देखाउन खोज्छ त्यसलाई जीवन अमूल्य छ, तर केही नबुझ्नेका लागि जीवन केही पनि नहुन सक्छ ।

विदेशी साहित्य कतिको पढ्नु भएको छ र को कोबाट प्रभावित हुनुहुन्छ ?
विदेशी साहित्यको प्रभाव भन्नाले स्वदेशीपनलाई मेटाउने होइन । विदेशीपनमा प्रभाव ग्रहण गरेर गुणहरु भित्र्याउन सकिन्छ । म विदेशीमध्ये ब्रह्मानन्द भजनका रचयिता, गायक मोहमद रफी, डा. सुमन आदि मलाई मन पर्छ ।

सिर्जनात्मक साहित्यबाट तपाईं कुन कुराको आशा गर्नुहुन्छ ?
साहित्यिक सिर्जनाले धैर्य प्रदान गर्छ, चित्त बुझाउँछ ।

समकालीन साहित्यबारे तपाईंको के धारणा छ ?
समकालीन साहित्यबारे सन्तोष र असन्तोषका दुवै पक्ष छन्, तर सन्तोषकै पक्ष प्रबल छ ।

 “साहित्यकारहरुले आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरा सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रुपमा जनसमक्ष पु¥याउन र हृदयङ्गम गराउन कलात्मक सौन्दर्यका साथ प्रस्तुत गरिन्छ ।” यसबारे तपाईंको के विचार छ ?
प्रत्यक्ष रुपमा राजनैतिक नारा नउराली कलात्मक रुपमा आफ्नो विचार र दृष्टिकोण पनि साहित्यमा व्यक्त गर्न सकिन्छ ।

तपाईं हाल के लेख्दै हुनुहुन्छ ? अप्रकाशित कृति के के छन् ?
म हाल मेरै संक्षिप्त जीवनी लेख्दै छु । अप्रकाशित कविताहरु संकलनका रुपमा आउन बाँकी छन् ।

तपाईं कस्तो लेखनलाई उत्कृष्ट लेखन मान्नुहुन्छ ?
कला र विचार दुवै गुण भएको लेखनलाई म उत्कृष्ट मान्छु ।

तपाईंको जीवनक्रम कसरी चल्दै छ ?
पारिवारिक स्थिति सन्तोष लिएर बिताएको छु । उपचार नहुने ठाउँमा आफ्नो रोगको व्यथा बहाएर काम छैन ।

पोखराको साहित्यिक गतिविधि वा साहित्यिक वातावरण कस्तो अनुभव गर्नुहुन्छ ?
पोखराको साहित्यिक गतिविधि राम्रै छ सरुभक्तले धेरै सफलता हासिल गर्नु भएको छ । अरुहरु पनि राम्रै गतिशीलतामा अघि बढ्दैछन् । चित्रकलामा दुर्गा बराल विशेष हुनुहुन्छ ।

तपाईंको वैयक्तिक र साहित्यिक जीवनमा घटेका तीतामीठा अविस्मरणीय क्षण छन् भने कृपया बताइदिनुहोस् ।
मेरा श्रीमती नै पाँ–पाँचवटा स्वर्गीय भए भने मैले तीतो अनुभव अवश्य गर्न प¥यो, तर चित्त बुझाएर बाँचेको छु ।

जीवनमा कुनै बेला कठिनाइ अनुभव गरेर साहित्य साधनामा निराश त हुनुभएको छैन ?
जस्तो दुःख परे पनि साहित्य साधनामा निराश भएको छैन र भन्छु ः
सुख र दुःख दुई थोक हुन्छ जीवनबारीमा
गरेर देखाऊ दुई थोपा रगत छउन्जेल छातीमा

 तपाईंको केही अम्मल छ कि ?
चुरोट र सुपारी खाछु, पानपराग पनि खान्छु ।

रोगव्याधीले कतिको सताउने गर्छ ?
दमको व्यथा छ । कान लगभग नसुन्ने भएको छु । खानपानमा बढी सचेत हुनुपर्छ ।

लोकगीतका आधारमा देशको चित्रण तपाईं कसरी गर्नुहुन्छ ?
राजनैतिक परिवर्तन र जनजीवनको सम्बन्ध मौसमी परिवर्तन र सुख वा दुःखको व्यथा, उल्लासहरु लोकगीतमा चित्रित गर्छु ।

(जनमत साहित्यिक मासिक
२०५४ श्रावण–कार्तिक, पूर्णाङ्क–५५ मा प्रकशित)