अम्बिका भण्डारीलाई अली मियाँ प्रोत्साहन पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ ।

प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । लोकसाहित्य र लोकगीतमा भण्डारीको करिब १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गर्न लागिएको ढकालले जानकारी दिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिका सप्तरंगी साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष र नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष हुन् । अनेक संघ, संस्थाबाट सम्मानित भण्डारीका २ कविता संग्रह, १ खण्डकाव्य र १ मुक्तक संग्रह प्रकाशित छन् । नेपाली मौलिक गीतलाई महत्व दिने उनले पछिल्ला केही वर्षका हरेक तीजमा मौलिक खालका नयाँ तीजगीत बजारमा ल्याउने गरेकी छन् ।

यसअघि यो पुरस्कारबाट पद्यराज ढकाल, सोम बज्राचार्य, धनबहादुर गायक, सकुन ज्ञवाली, भीष्म बास्तोला, ऋतु लामा लगायत सम्मानित भइसकेका छन् । पुरस्कार लोकवि अली मियाँको जन्मदिन फागुन १५ गते हुने विशेष समारोहमा वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।